सुत्या सुत्यै मृत्यु

सुत्या सुत्यै मृत्यु

सुत्या सुत्यै मृत्यु

सुत्या सुत्यै मृत्यु !

– राति जाउलो खाएर सुतेका ३६ वर्षीय प्रकाश दाहाल राति अचेत अवस्थामा फेला परे । उपचारका लागि नर्भिक अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको थियो । २ मंसिर २०७४ मा उनको निधन भयो ।

– छाति दुखेपछि पत्नीलाई मालिस गर्न लगाएर सुतेका अरुणकुमार चौधरीलाई बिहान उठाउन खोज्दा मृत भेटिए । बाँके बेतहनीका ५० वर्षीय चौधरीको २ जेठ ०७५ बिहान निधन भयो ।

– ८२ वर्षको उमेरमा बौद्ध आरुवारीस्थित निवासमा वरिष्ठ कलाकार तथा साहित्यकार मनुजबाबु मि श्रको निधन भयो । २३ साउन ०७५ मा उनको निधन पनि अचानक भएको थियो ।

– ५५ वर्षीय कांग्रेस स्याङ्जा जिल्ला सभापति कमलप्रसाद पंगेनीलाई सुतिरहेकै अवस्थामा ह्दयघात भयो । २० साउन २०७५ मा उनको पनि निधन भयो ।

नसर्ने रोगमध्ये अग्रपंक्तिमा पर्ने मुटुको रोगले जुनसुकै उमेरका व्यक्तिको ज्यान जाने क्रम बढेको छ । पछिल्लो समय राति सुतेको अवस्थामा ज्यान जानुमा मायोकार्डियल इन्फ्राक्सन मुख्य कारण भएको मुटुरोग विशेषज्ञहरू बताउँछन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.मनबहादुर केसीका अनुसार, मायोकार्डियल इन्फ्राक्सनका कारणले सुतिरहेको बेला मृत्यु हुन सक्ने जोखिम बढी देखिएको छ । उनी भन्छन्, ‘मुटुमा रगत आपूर्ति गर्ने नलीमा ब्लकेज हुँदा मायोकार्डिइल इन्फाक्सन भइ मृत्यु हुनेगर्छ ।’ मायोकार्डियल इन्फ्राक्सन हुँदा मुटुको मांसपेशी (मसल्स) मा क्षति पुग्छ । रगत आपूर्ति बन्द हुन पुग्छ । डा. केसीका अनुसार, अचानक मृत्यु हुनुमा मायोकार्डियल इन्फ्राक्सनसहित अन्य ६ वटा कारण छन् ।

१. मायोकार्डियल इन्फ्राक्सन

मुटुमा रगत आपूर्ति गर्ने नलीमा ब्लकेज भएको अवस्थामा मुटु नचल्ने हुन सक्छ वा मुुटुको चालमा गडबडी (भिटी वा भिएफ) आई प्रभावकारी रुपमा रक्तसञ्चार नहुने हुन्छ ।

रक्तसञ्चार प्रभावकारी नहुँदा अचेत भइ बिरामीको मृत्यु हुन सक्छ । डा. केसी भन्छन्, ‘ऐया भन्न पनि पाउँदैन । सुतिरहेको बेला मुटु बन्द भयो भने चलमलाउने हुँदैन । जस्तो सुतेको उस्तै अवस्थामा मृत्यु हुनसक्छ ।’ अचानक ज्यान जानुमा झन्डै ८० प्रतिशत कारण मायोकार्डियल इन्फ्राक्सन भएको डा. केसीको भनाइ छ ।

लक्षण नदेखिइकनै मायोकार्डियल इन्फ्राक्सन हुन सक्ने केसी बताउँछन् । ३० वर्ष नाघेका व्यक्तिको वजन अत्यधिक छ वा परिवारका कुनै सदस्यलाई मुटुको समस्या भएको छ वा धेरै जोखिम छन् भने मायोकार्डियल इन्फ्राक्सन हुने जोखिम धेरै हुन्छ । तसर्थ यस्ता व्यक्तिहरु बढी नै सजग हुनु पर्ने चिकित्सकको सुझाव छ ।

२. मुटुको चालमा गडबडी (भिटी/भिएफ)

ह्दयाघात भइसकेको वा अन्य प्रकारका मुटुरोगीको कुनै पनि समयमा मुटुको चालमा गडबडी (भिटी÷भिएफ) आउन सक्छ । यस प्रकारको गडबडीले कार्डियाक एरेस्ट भई आकस्मिक मृत्यु हुन सक्छ ।

३. मुख्य धमनी फुट्ने समस्या

जन्मँदा नै मुटुको कुनै संरचना बिग्रेको छ अर्थात् जन्मजात मुटुको मुख्य नलीको बनावटमा क्षति पुगेको छ भने त्यस्तो व्यक्तिको पनि सुतेकै अवस्थामा निधन हुन सक्छ । मुटुले रगत पम्प गर्दा मुख्य धमनीमार्फत् शरीरमा रगत पठाउँछ । कहिलेकाहीँ त्यो मुख्य धमनी वा पिँधमा भएको भाग प्याट्ट फुट्न सक्छ । त्यो फुटेर मुटुभित्रै रगत फर्कियो भने अप्ठ्यारो भएको र दुःखेको महसुस हुन सक्छ । तर, मुटुबाहिर रगत बगी बाहिर खोलमा पुग्यो भने एक मिनेटभित्रै मुटुबाहिर खोल नै भरिन्छ । त्यस्तो अवस्थामा मुटु चल्दैन । मुटुको नली फुट्यो वा रगत मुटु बाहिर गयो भने शरीरमा क्षणभरमै रगत सकिन्छ । चल्मलाउन पनि नसक्ने हुन्छ । सुतेको अवस्थामा यस्तो भएको छ भने सुतेको सुत्यै ज्यान जान सक्छ ।

४. च्यानलोप्याथी

मुटुको धड्कनलाई सन्तुलित पार्न सोडियम, पोटासियम, क्याल्सियमलगायत लवणले सन्तुलन मिलाइरहेको हुन्छ । मानसिक तनाव, ज्वरोलगायत पक्षले च्यानलोप्याथीमा असर पुर्‍याउन सक्छ । च्यानलोप्याथीमा गडबडी भएको अवस्थामा पनि मुटु चल्ने वा नचल्ने (भिटी÷भिएफ) हुन्छ । जसले व्यक्तिको अचानक मृत्यु हुन सक्छ । च्यानलोप्याथी वंशाणुगत डिसअर्डरले हुने समस्या हो ।

५. रगतको थेग्लो जम्दा (पल्मोनरी इम्बोलिज्म)

खुट्टा वा शरीरको कुनै भागमा चोट लागेको अवस्थामा रगतको थेग्लो (क्लट) शिरामा जम्मा हुन सक्छ । सुतेको बेला शिरामा जमेको त्यो रगत फर्केर मुटुको दायाँतर्फ जान सक्छ । मुटुले फोक्सोमा रगत पम्प गर्छ । रगतको थेग्लोले फोक्सोमा रहेको रगतको नली बन्द गर्न सक्छ । जसलाई पल्मोनरी इम्बोलिज्म भनिन्छ । हातखुट्टामा चोट लागेको छ वा अप्रेसन गरी सुतेको अवस्थामा तथा बस वा प्लेनमा बसेर लामो यात्रा गरिएको छ भने पनि खुट्टामा रगत जम्न सक्छ । त्यसैले बसेको बस्यै पनि गर्नु हुँदैन । खुट्टा चलाइरहनु पर्छ ।

रगतको नलीमा सामान्य असर परेको छ भने पनि बिरामीलाई श्वास फेर्न गाह्रो हुन्छ । छाती दुख्छ तर फोक्सोको मुख्य रक्तनलीमा ठुलो थेग्लो जमेको छ भने मानिसको तुरुन्तै ज्यान जान सक्छ । रगत जम्मा हुने थेग्लो अर्थात् क्लटलाई डिप भेन थ्रम्बोसिस (डिभिटि) भनिन्छ । सुर्तीजन्य पदार्थको अत्यधिक सेवन गर्ने व्यक्तिलाई पनि यो जोखिम रहन्छ ।

६. मस्तिष्कघात

मुटु र फोक्सोलाई नियन्त्रण गर्ने मस्तिष्कको जुन भाग हुन्छ त्यस भागमा मस्तिष्कघात भएमा मानिसको अचानक मृत्यु हुन सक्छ ।

हेलचक्र्याईं नगरौं

कुनै लक्षण नै नदेखीकन जँचाउन जाँदा धेरैलाई मुटुसम्बन्धी समस्या भएको पाइएको छ । कसैलाई हिँड्दा छाती दुख्ने, स्वाँ स्वाँ हुने, रिँगटा लाग्ने तथा मुर्छा पर्नेजस्तो समेत हुन सक्छ । त्यति हुँदा पनि मतलब नगर्नेहरूलाई अचानक मुटुको समस्याले सताउने गर्छ ।

हिँड्दा छाती दुख्ने, अस्वाभाविक ढंगले दम बढ्ने, हिँडिरहेको बेला आँखाअगाडि कालो देखिने, बेहोस हँुलाजस्तो हुने लक्षण देखा परेका व्यक्तिले विशेष ध्यान दिनु पर्छ । पहिले नै मुटुको समस्या भएका व्यक्तिले त झनै ख्याल गर्नु पर्छ । मुटुको रोग छैन तर आफ्नो परिवारभित्र (काका, फुपु एवं मावलीतिर अचानक मृत्यु भएको) छ भने पनि सतर्क हुनु पर्छ ।

धुम्रपान र अत्यधिक मद्यपान गर्ने व्यक्तिले विशेष ध्यान दिन जरुरी भएको डा. केसी बताउँछन् । आफ्नो खानपान तथा जीवनशैली अनुशासनयुक्त छैन र परिवारका कुनै सदस्यलाई मुटुसम्बन्धी समस्या थियो भने मुटु रोग लाग्ने जोखिम हुन्छ । त्यसका लागि चिल्लो सेवन नगर्ने, नुन सेवन न्युन गर्ने, हरियो सागपात, फलफूल, रातो मासु सेवन नगर्ने, एरोविक शारीरिक अभ्यास गर्नु लाभदायक हुन्छ ।

४० वर्ष उमेर नाँघेका मानिसले वार्षिक रूपमा र ह्दयाघात वा अचानक मृत्युको जोखिम भएका व्यक्तिले स्वास्थ्य जाँच गराउनु पर्ने सुझाव मुटुरोग विशेषज्ञको छ । डा. केसी भन्छन्, ‘मुटु रोग तथा अचानक हुने मृत्युबाट बच्न आजैदेखि स्वस्थ्य जीवनशैली अपनाऔं । सुर्तीजन्य पदार्थको सेवन बन्द गरौं ।

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account