एकीकृत मुसहर बस्तीः नयाँ घर, पुरानै दुःख !

एकीकृत मुसहर बस्तीः नयाँ घर, पुरानै दुःख !

एकीकृत मुसहर बस्तीः नयाँ घर, पुरानै दुःख !

२० पुस, बर्दिबास । महोत्तरीको बर्दिबास पुगेपछि एकीकृत नमूना मुसहर बस्ती नपुग्ने कमै होलान् । बजारबाट दुई किलोमिटर पर धुर्मुस सुन्तली फाउन्डेसनले बनाएको एकीकृत नमूना मुसहर बस्ती निकै आकर्षक छ ।

बर्दिबास नगरपालिका २ मा रहेको एकीकृत नमुना बस्तीमा पक्की घरहरु छन् । धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गरेको बस्तीका प्रत्येक घरमा ३ वटा कोठा र बरन्डासमेत छन् । यहाँ ५० आवासीय घर, एउटा सामुदायिक भवन र मुसहर समुदायको कुलदेवता दिनाभद्रीको मन्दिर छ ।

नेपालको राष्ट्रिय झण्डाको रंग झल्काउने गरी छानामा नीलो जस्ता, पृष्ठभूमिमा गाढा रातो र चन्द्र सूर्यको भागजस्तै रातो पृष्ठभूमिभित्र सेतो रंगले हरेक घर आकर्षक ढंगले सिंगारिएको छ । हेर्न लायकको बनाइएको छ वस्ती ।

वस्तीका प्रत्येक घरमा चर्पी, खानेपानीका लागि ट्यांकीसहितका धारा, सुत्ने खाट, हरेक घरमा ग्याससहित चुल्हो जडान छ । बस्तीमा स्वागतद्वार, प्रतिक्षालय, एउटा बाल उद्यान, बस्ती अवलोकनका लागि भ्यू टावरसमेत छ ।

घर नयाँ, जीवनशैली पुरानै

एकीकृत नमुना मुसहर बस्तीमा मुसहर समुदायको घर पक्की र नयाँ भए पनि जीवनस्तरमा चाहिँ खासै सुधार आउन सकेको छैन । एकीकृत मुसहर बस्तीको निर्माणले विपन्न र दलित मुसहर समुदायको घर नयाँ भए पनि जीवन जिउने शैली पुरानै छ ।

बालबच्चाहरु चप्पल जुत्ता र कपडा नलाएर कुदिरहेकै देखिन्छन् । भौतिक परिवर्तनसँगसँगै सामाजिक र आर्थिक परिवर्तन नहुँदा उनीहरुको जीवनस्तर माथि उठ्न सकेको छैन । उनीहरु ज्याला मजदुरी गरेरै जीवन गुजारा गर्न बाध्य छन् ।

फुसको घर हुँदा सुँगुर समेत पालेर आय आर्जन गर्ने गरेका रामजी सदाले पक्की घरमा आएपछि सुँगुर पाल्न छाडेका छन् । अन्य आम्दानीको स्रोत नभएका कारण उनलाई घर चलाउन मुस्किल छ । ‘पहिला सुँगुर पाल्थ्यौं, आफू पनि खान्थ्यौं उनीहरु पनि खान्थे, कमाई हुन्थ्यो, अब कहाँ पाल्ने ? अहिले त्यो सबै ठप्प छ ’ उनले भने ‘वृद्ध अवस्थामा पुगेका कारण आँखा राम्रोसँग देख्न छाडेको छु, दाउरा बेचेर गुजारा गर्नुपरेको छ ।’

सदाका माइला छोराले १८ वर्षको उमेरमा विवाह गरेका रहेछन् । केटीको पनि उमेर १८ नै । जबकि अहिले कानुनतः विवाह गर्ने उमेर २० वर्ष छ ।

अशिक्षा, गरिबी अभावले पछि परेको मुसहर बस्तीमा पक्की घर बाहेकका कुरा अन्य मुसहर समुदायका जस्तै छन् । त्यसो त धुर्मुस सुन्तली फाउन्डेशन र अन्य विभिन्न संघ संस्थाले उनीहरुको जीवनस्तर माथि उकास्न प्रयास नै नगरेका भने होइनन् । उनीहरुलाई लक्षित गरेर च्याउ खेती, बाख्रा पालन, सिलाई बुनाई, मुडा बनाउने लगायतका तालिम बस्तीमा सञ्चालन भएका छन् ।

तर, तालिम तालिमामा मात्रै सीमित भएको छ, व्यवहारमा केही भएको छैन । २ महिना सिलाई बुनाईको तालिम लिएकी सम्झना सदा अहिले खाली हात बसेकी छन् । उनीसमेत १२ जना जतिले सिलाई सिक्न प्रयोग गरेको ५ थान सिलाई मेशिन कोठामा थन्किएर बसेका छन् । कसैले पनि प्रयोगमा ल्याएका छैनन् ।

सम्झनालाई तालिमपछि किन काम नगरेको भनेर सोध्दा उत्तर दिन मानिनन् । आगो तापेर बसेकी उनी घरमा जरुरी काम परेजसरी आगो ताप्न छाडेर हिँडिन् ।

मानकी देवीसहित १५ जना नास्टले दिएको च्याउ खेतीसम्बन्धी तालिममा सहभागी भएका थिए । तर, न व्यक्तिगत, न समूहमा, उनीहरुले च्याउ खेती गरेनन् । तालिम लिने समयमा च्याउ खेती गरे पनि उनीहरुले त्यसलाई निरन्तरता दिन सकेनन् ।

‘एक्लै गरेको भए हुन्थ्यो होला, तर सामुहिक रुपमा काम गर्दा सफल हुन सकेनौं ।’ मानकीले भनिन् । च्याउमा पानी हाल्न पनि उ जाला, उ जाला भनेर कोही नगएको तीतो अनुभव सुनाइन् उनले ।

बस्तीका हरेक घर अगाडि बगैंचा तयार गरिएको छ । तर, बगैंचाको उचित संरक्षण हुन सकेको छैन । कसैले तरकारी लगाएका छन् त कतिपयले त बगैंचामा नै चुल्हो बनाएर खाना बनाउने गरेका छन् । अहिले चिसो मौसम छ, कतिपयले बगैंचामा नै आगो ताप्ने व्यवस्था मिलाएका छन् । धुर्मुस सुन्तली फाउन्डेसनले ग्यासको व्यवस्था गरेको भए पनि उनीहरुले आगो बाल्न छोडेका छ्रैनन् । दिनभरि दाउरा खोजेर गुजारा गर्नेहरु पनि बस्तीमा भेटिन्छन् । अझै पनि अधिकांश ज्याला मजदुरी गरेर नै जीवन गुजारा गरिरहेका छन् ।

नयाँ वस्तीमा बालविवाह, मदिरा सेवन लगायतका सामाजिक कुरीति, विकृतिहरु पनि विद्यमान छन् ।

स्थानीय सरकारले ध्यान दिने कि ?

वीरगञ्जबाट दोस्रोपटक मुसहर बस्तीमा पुगेका भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफ बस्तीमा मुसहर समुदायको सामाजिक व्यवहारमा परिवर्तन ल्याउन आवश्यक देखिएको बताउँछन् ।

‘पहिलोपटक आउँदा भर्खरै बस्ती बनेको थियो, नयाँ भएकाले बस्ती चम्केको थियो । उनीहरुमा उर्जा र उत्साह देखिन्थ्यो, कायापलट नै भएको महसुस हुन्थ्यो,’ सर्राफले अनलाइनखबरसँग भने ‘अहिले आउँदा आवास बाहेक अन्य कुरा उस्तै देखियो । आत्मनिर्भरता र सामाजिक चेतनास्तरमा खासै सुधार देखिएन ।’

पर्यटकीय गन्तव्य बनाउन सकिने ठाउँ भए पनि स्थानीय सरकारले यसमा ध्यान दिन नसकेको उनको तर्क छ ।

मुसहर बस्तीका युवा मनोज सदाले फुसको घरबाट पक्की घरमा आए पनि मुसहर समुदायमा चेतनास्तरको विकास हुन बाँकी रहेको बताए ।

‘नमूना बस्ती बन्नुअघि जुन किसिमको बिजोग थियो, त्यो त अहिले छैन । समुदायबाट १०५ जना बालबालिका नियमित विद्यालय गएका छन् । विद्यालयमा हुने छुवाछुतको विभेद हटेको छ, सरसफाइमा सुधार आएको छ’, मनोजले थपे, ‘तर व्यवहारिक परिवर्तन एकैपटक नहुने रहेछ, विस्तारै सुधार हुने विश्वास लिएका छौं ।’

जनगणना ०६८ अनुसार नेपालमा मुसहरको जनसंख्या २ लाख ३४ हजार ४ सय ९० छ । तीमध्ये महोत्तरीमा मात्रै २३ हजार ३ सय ६४ जना मुसहर छन् । अति सीमान्तकृत समुदायका रुपमा रहेका मुसहर समुदायको अवस्था निकै दयनीय छ । प्रायःजसो उनीहरुको घर फुसको हुन्छ ।

मुसहर समुदाय तराई मधेसमा पिछडिएको समुदायको रुपमा परिचित छ । मुसहर भील जातिका सन्तानको रुपमा परिचित छन् । भील पश्चिम भारतमा रहेको आदिवासी जनजाति हो ।

मुसहर मधेसको गाउँवस्तीहरूमा छुट्टै पहिचानका साथ बसोबास गरिरहेका छन् । मुसाको दुलो खनेर धान निकाल्ने र मुसालाई नै आहार बनाउने भएकाले उनीहरुलाई मुसहर भन्ने गरिएको बताइन्छ ।

कसैले वास्ता नगरेको पिछडिएको यो समुदायको जीवनस्तरमा सुधार ल्याउनका लागि धुर्मुस सुन्तलीले सह्रानीय काम गरेर समाजलाई दृष्टान्त दिएका छन् । तर, अब यसलाई बचाउने र व्यवस्थित बनाउने कामचाहिँ स्थानीय सरकार र नागरिकहरुको हो कि ?

seurce online khabar

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account